एभरेष्ट प्रिमीयर लीग (इपीएल) २०२० मा चितवन टाइगर्सको पहिलो खेल विराटनगर वारियसंग हुने भएको छ । प्रतियोगिताको दोस्रो दिन चैत २ गते (शनिबार) नेपालका निवर्तमान कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरसंग चितवन भिड्न लागेको हो । सो खेल विहान १० बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । यस्तै चितवनले आफ्नो दोस्रो खेलमा चैत ३ गते साविक विजेता ललितपुर प्याट्रीयट्संग विहान १० बजे नै प्रतिस्पर्धा गर्ने छ भने तेस्रो खेलमा चैत ५ गते १० बजे नै काठमाडौं किंग्स इलेभेनसंग भिड्ने छ ।यसैगरी चितवनले आफ्नो चौथो खेलमा चैत ८ गते दिउँसो २ बजे साविक उपविजेता भैरहवा ग्लाडियटर्ससंग खेल्नेछ । चितवनले लीगको अन्तिम खेलमा ९ गते पोखरा राइनोजसंग खेल्नेछ । लीगमा पहिलो वा दोस्रो स्थान भएमा चितवन क्वालिफायर १ मा भिड्न पाउने छ भने तेस्रो वा चौथो भएमा इलिमिनेटरमा भिड्न पाउने छन् । प्रतियोगितामा क्वालिफायर १ को विजेता सिधै फाइनलमा पुग्ने छ भने क्वालिफायर १ मा पराजित हुने टोली पुनः फाइनल प्रवेशका लागि अर्को मौका क्वालिफायर २ मा खेल्न पाउने छ । उता इलिमिनेटरमा विजयी हुने टिम क्वालिफायर २ मा खेल्न पाउने छ । सोही खेलको विजेता टोली फाइनल पुग्ने अर्को टोली बन्ने छ ।यसपटकको इपीएल बहुप्रतिक्षित प्रतियोगिता बनेको छ । विदेशी स्टार खेलाडी आउने भएकाले दर्शकहरु प्रतियोगिता हेर्न आतुर छन् । चितवन टाइगर्सले पनि यसपटक टेष्ट राष्ट्रका स्टार खेलाडीहरु भित्र्याएको छ । चितवनले अफगानिस्ताका विष्फोटक व्याट्सम्यान मोहम्मद सहजाद र आयरल्याण्डका विष्फोटक व्याट्सम्यान तथा स्पिनर पउल स्टर्लिङलाई भित्र्याई सकेको छ । सहजाद पहिलोपटक इपीएल खेल्न लागेका हुन् भने स्टर्लिङ गतवर्ष चितवनबाटै इपीएल खेलेका थिए । चितवनका लागि यी दुई खेलाडी भरपर्दा खेलाडी हुन् । चितवनले अन्य दुई विदेशी खेलाडीको नाम छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।चितवन टाइगर्सले यसपटक मार्की प्लेयर दीपेन्द्र सिंह ऐरीलाई काठमाडौं पठाएर काठमाडौंको मार्की प्लेयर नेपालका तीव्र गतिका बलर सोमपाल कामीलाई भित्र्याएको छ । सोमपाल नेपाली फास्टल बलर मध्येमा सबैभन्दा तीव्र गतिमा बल बलिङ गर्ने बलर हुन् । उनी नेपाली राष्ट्रिय टोलीका भरपर्दा बलर हुन् । सोमपाल बलिङबाट मात्र नभई व्याटिङबाट समेत उत्तिकै योगदान दिन सक्ने क्षमतावान खेलाडी हुन् । उनी आइसीसीको वरियतामा नेपालबाट अलराउण्डरको रुपमा पर्ने गरेका छन् ।