नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले क्रिकट खेलबाट सन्यासको घोषणा गरेका छन् । किर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजबाट खेलेका शक्तिले शनिबारबाट आफ्नो खेलाडी जीवनको अन्य गरका हुन् । पोखरा राइनोज इपीएलको समूह चरणबाट बाहिरिएको छ । झण्डै २० बर्ष लामो क्रिकट खेलको करियरबाट उनले विश्राम लिएका हुन् । नेपाली क्रिकेटको हरेक सफलतामा जोडिएका ३४ बर्षीय शक्तिले सन्यास घोषणा गरेपनि आफू क्रिकेटबाट टाढा भने नहुने बताएका छन् । ‘क्रिकेटबाट म टाढा हुन सक्दिन । यही खेलको कुनै न कुनै भूमिकामा रहेर नेपाली क्रिकेटको विकासमा काम गर्नेछु,’ शक्तिले भने । नेपाली क्रिकेटलाई डिभिजन ५ देखि टी–२० विश्वकप पुर्याउन र एकदिवसिय मान्यता दिलाउँदा शक्ति नेपाली टोलीको मुख्य सारथी थिए । उनको अन्तर्राष्ट्रिय खेल भने नेदरल्यान्डसविरुद्धको पहिलो एकदिवसिय क्रिकेट श्रृखंला अन्तिम बन्यो । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को प्रतिबन्धमा परेका कारण शक्तिको विदाई भब्य भने हुन सकेन । निजि क्षेत्रको प्रतियोगिता इपीएललाई नै शक्तिले सन्यास लिने उपयुक्त थलोको रुपमा प्रयोग गरे । शक्ति खेलुन्जेल नेपाली क्रिकेटका लागि शक्ति नै भए । सन् २००२ देखि सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका शक्ति ह्याट्रिक लिने पहिलो खेलाडी हुन् । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटमा सतक पनि हानेका छन् । सन् २००५ को विश्वकप छनोट अन्तर्गत इटलीविरुद्ध उनले एक सय ६ रन बनाएका थिए ।